बराहक्षेत्रः राष्ट्रिय परीक्षा बोर्डले केही साता अघि कक्षा १२ को नतिजा सार्वजनिक गर्दैगर्दा बराहक्षेत्र नगरभरिका ६ सामुदायिक र २ निजि विधालयका विद्यार्थी परीक्षामा सम्मेलित भएका थिए । परीक्षाफललाई आधार मानेर मुल्यांकन गर्दा अझैपनि सामुदायिक विद्यालय संस्थागत विद्यालयको तुलनामा कमजोर नै देखिन्छन् । मुलतः सामुदायिक विद्यालय भनेपछि अभिभावकले नाक खुम्च्याउनेु प्रवृत्तिमा कमि आएको देखिएपनि विद्यालयले जुन रूपमा फड्को मार्न सक्नुपर्ने हो, त्यो प्रगति देखिदैन ।
सरसर्ती हेर्दा देशव्यापी रोगको रुपमा रहेको यस् समस्या बराहक्षेत्र नगरपालिकाभित्र पनि उस्तै छ । संस्थागत विद्यालयको परीक्षाफल उत्कृष्ट देखिन्छ भने सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख मात्र रहेको तथ्यांक छ ।
बराहक्षेत्रका सामुदायिक र संस्थागत विद्यालयको परीक्षाफलबारे यहाँ चर्चा गरिएको छः
आदर्श मावि
साविक बराहक्षेत्र नगरपालिकाको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको यस विद्यालयको पछिल्ला नतिजा खासै चित्तबुझ्दो पाइदैन । यसपटक विद्यालयबाट १ सय ३८ विधार्थीले कक्षा १२ को परीक्षा दिएकामध्ये १ सय २९ जना मात्र स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएको विधालय स्रोतले जनाएको छ ।
जनता मावि
बराहक्षेत्र ११ स्थित मधुवनमा रहेको जनता मावि मुलतः यस क्षेत्रका पिछडिएका समुदाय पढ्ने विद्यालयका रूपमा लिइन्छ । विशेषगरी मुस्लिम, दलित तथा आर्थिक विपन्नता भएका विद्यार्थीहरु यहाँ पढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस विद्यालयबाट यसपटक १२ कक्षाको परीक्षा दिनेहरुमा ७७ विद्यार्थी थिए भने ७१ जना मात्र स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएका छन् ।
महेन्द्र मावि
बराहक्षेत्र नगरको सदरमुकाम नगरीमा रहेको यस विद्यालय थुप्रै विधार्थीको केन्द्रविन्दुको रूपमा रहेको पाइन्छ । यद्यपि विद्यालयको ओभरअल पर्फर्मेन्सु भने त्यति चित्तबुझ्दो नरहेको स्थानीयहरु नै बताउँछन् । यसपटक यहाँबाट २ सय ४६ विधार्थीले कक्षा १२ को परीक्षा दिदैगर्दा २ सय २६ मात्र स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भए ।
प्रकाश मावि
साविकको प्रकाशपुर गाविस लक्षित विधार्थी पढ्ने यस विद्यालयबाट यसपटक ९६ प्रतिशत नतिजा आएको छ । १ सय ३ विद्यार्थीले कक्षा १२ को परीक्षा दिएकोमध्ये ९९ जनाले स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएको जनाइएको छ ।
महेन्द्र मावि(भरौंल)
बराहक्षेत्र ३ मा अवस्थित यस विद्यालयबाट यसपटक ३३ जनाले कक्षा १२ को परीक्षा थिएका थिए भने ३२ जना स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएको जनाइएको छ ।
जग्गनाथ डेडराज जनता मावि
बराहक्षेत्र ५ मा अवस्थित यस विद्यालय २०७४ र ०७५ सालमा नेपाल सरकारले उत्कृष्ट सामुदायिक विद्यालय (सुनसरीभरको) घोषणा गरेको विद्यालय हो । यस विद्यालयबाट शैक्षिक सत्र २०७७ को लागि १ सय ७६ विद्यार्थीले १२ कक्षाको परीक्षा दिएका थिए । जसमध्ये १ सय ३५ जनाले मात्र स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भए । जुन नगरका अन्य विधालयका नतिजाको तुलनामा निकै कम हो ।
मुनबिम एकेडेमी
पहिलोपटक कक्षा दस जोड २ को संचालन सुरु गरेको यस विद्यालयले सुरुवातमै छलाङ मारेको छ । २५ जनाले परीक्षा दिएकोमध्ये २५ जनाले नै स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएको पाइएको छ ।
जीवन ज्योती इ.स्कुल
यस विद्यालय पछिल्लोसमय धेरै विद्यार्थी र अभिभावकको शैक्षिक गन्तव्यको कडीका रूपमा रहेको छ । निजी तथा सामुदायिक विद्यालयको भिडमा छुट्टै पहिचान कोर्न सफल यस विद्यालयको ओभरअल पर्फर्मेन्सु प्रती शिक्षाप्रेमी व्यक्तित्वहरु सन्तुष्ट रहेको बुझिन्छ । यस विद्यालयबाट यसपालि ६८ जनाले कक्षा १२ को परीक्षा दिएका थिएभने ६७ जना स्नातक पढ्न सक्ने योग्यतासहित उतिर्ण भएका छन् ।
सामुदायिक र संस्थागत विधालयको नतिजा खाड्लबारे के भन्छन् सम्बन्धित सरोकारवाला ?
मुनबिम एकेडेमीका प्रिन्सिपल देबेन्द्रबहादुर बिस्ट संस्थागत विद्यालयको हकमा विद्यार्थीको नजितासँग विद्यालयको आर्थिक भविष्य जोडिएकोले नतिजामा फरक पर्ने बताउँछन् । उनी भन्छन्, हामीकहाँ सीमित विद्यार्थी हुने भएकाले पनि पढाइ गुणस्तरीय हुने हो ।
यता मेहेन्द्र मावि चक्रघट्टीका प्रिन्सिपल चण्डीराज पोखरेलले भने सामुदायिक विद्यालयमा परम्परागत शैक्षिक सिकाइलाई परिमार्जन गर्न जरुरी रहेको तर्क गरे ।
त्यस्तै, बराहक्षेत्रमा एकपछी अर्को गर्दै आफ्नो विद्यालयले प्राप्त गरेको उपलब्धिको राज बताउँदै जीवन ज्योती इङ्गलिस स्कुलका प्रिन्सिल दिवस बिस्टले भनेका छन्, -सबैभन्दा मुख्य कुरा अनुशासन नै हो । उनकाअनुसार विभिन्न टेस्टहरुद्वारा विद्यार्थीको मूल्यांकन, शिक्षकलाई प्रशिक्षण, अभिभावक र विद्यालयबीचको समन्वयात्मक भूमिका इत्यादि कारणले आफ्नो विद्यालयले सफल हुँदै गएको हो ।
यसपटक कोरोनाकालले विद्यार्थीको पढाइमा समेत असर गरेकोले आफ्नो विद्यालयको नतिजामा सुस्तता आएको जडेज माविका प्रधानाध्यापक हिरामणी पौडेलले बताए ।
सामुदायिक विद्यालय भनेपछि अभिभावकले पनि हेल्च्याक्राइ गरिदिनुहुन्छ, उनले थपे, लकडाउनले विद्यार्थीको पढ्ने मानसिकतामा पनि कमि आयो ।
त्यस्तै, जनता माविका प्रधानाध्यापक गंगाप्रसाद यादवले भने, यस क्षेत्रमा आर्थिक विपन्नता रहेका विद्यार्थी हुँदा अनलाइन कक्षा गर्न सकेनौ । उनले नतिजा जस्तो भएपनी पढाइको गुणस्तर भने संस्थागत विद्यालयको तुलानामा रत्तिभर कम नभएको जिकिर गरे ।
भर्खरै कक्षा १२ को परीक्षा सकेकी छात्रा दीपा मंग्राती भन्छिन्, सामुदायिक विद्यालयमा धेरै विद्यार्थी भएकाले पनि नतिजामा फरक परेको हो । वैकल्पिक कक्षा, नियमित मूल्यांकन, अतिरिक्त क्रियाकलाप पनि संस्थागत विद्यालयको तुलनामा सामुदायिकमा कम हुने गरेको उनको तर्क छ ।
त्यस्तै, अभिभावकहरुमा भने बोर्डिङ स्कुलप्रती लगाव र विश्वास छुट्टै पाइन्छ । संस्थागत विद्यालयप्रति अभिभावकको विश्वसनीयता बढ्दै गर्दा सामुदायिक विद्यालयको स्तरोन्नतिमा पनि सम्बन्धित सबै सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ ।