काठमाडौंः बजारमा दूध आइपुग्न पशुपालकमाथि निर्भर छ। पोहोर कोरोनाका कारण डेरीको बजार घट्यो। किसान आत्तिए, धेरैले पेसा फेरे। त्यसको असर यतिबेला दूधको आपूर्ति प्रणालीमा परेको छ। डेरी व्यवसायीहरुका अनुसार यतिबेला कच्चा दूध छेलोखेलो पाइनुपर्ने हो तर पोहोरका तुलनामा निकै घटेको छ।
यसको असर प्रशोधन गरेर बजारमा दूध र दुग्धजन्य पदार्थ पठाउने डेरीहरुमा परिरहेको छ। व्यवसायीहरुका अनुसार संकलित दूध प्रशोधन गरेर बजार पठाइने भएकाले किसानका सहकारी र चिस्यान केन्द्रमै कम आइपुग्नुको असर बजारमा बिस्तारै देखा पर्ने अवस्था आएको छ।यसले भविष्यमा मूल्यवृद्धिको संकेत गरेको छ।
अहिले जसले जति उठाउँछु भने पनि पाउनुपर्ने सिजन हो तर अचम्मसँग दूध घटेको छ, एस के डेरीका सञ्चालक सरोज पाण्डेले भने,-गत वर्षको कोभिडको असर यतिबेला दूध उत्पादनमा परेको हुनुपर्छ भन्ने ठानेका छौं।
महामारीका बेला बजारमा मन्दी थियो। दूधको खपतमा कमी आएपछि किसानले सस्तो मूल्यमा बिक्री गरेका थिए। दूधबाट नोक्सानी खेपेका किसानलाई दाना, घाँस र श्रमसहितको लागत भने महँगो परेको थियो। घाटा हुनथालेपछि किसानहरु यो व्यवसायबाट पलायन भएका कारण उत्पादन घटेको पाण्डेले बताए।
कात्तिकदेखि कच्चा दूध उत्पादन सिजन हो तर अहिले बजारमा अभाव छ। उपत्यकामा दूधको आपूर्ति कम भएपछि तराईका जिल्लामा माग बढ्न थालेको छ,उनले भने ।
उनका अनुसार पशुपालक किसानबाट हुने कच्चा दूधको संकलन यतिबेला ३६ प्रतिशतले घटेको छ। पहिले कच्चा दूध धेरै संकलन हुँदा डेरीहरुले पाउडर पनि बनाएर राख्थे। कच्चा दूधको आपूर्ति घटेका बेला त्यो पाउडर दूध र बटर काम लाग्थ्यो। अहिले कच्चा दूधले जसोतसो माग धान्ने काम भइरहेको छ, यसरी धेरै दिन टिक्न गाह्रो छ, पाण्डेले भने।
सरकारी कम्पनी दुग्ध विकास संस्थानले पनि किसानबाट पर्याप्त मात्रामा दूध संकलन हुन नसकेको जनाएको छ। महाप्रबन्धक रुद्रप्रसाद पौडेलले भने -कच्चा दूध नै चाहिएजति पाइएन भने हामीले बजारमा पठाउने परिमाण स्वाभाविकरूपमै प्रभावित हुन्छ। उत्पादन कम भएकाले संस्थानले गर्दै आएको दैनिक संकलनको परिमाण घटेको उनले बताए।
पोहोर यो बेलामा दिनको एक लाख ६५ हजार लिटर संकलन भइरहेको थियो। योपटक दैनिक संकलन एक लाख १५ हजारमात्र भइरहेको छ, उनले भने, -गत सालभन्दा दूध संकलन २७ प्रतिशतले घटेको छ। उत्पादन घटेपछि बजारको माग भए पनि संकलनमा परिमाण बढाउन नसकेको उनले बताए।
कोभिडको समयमा बजारमा दूध बिक्री नभएपछि किसानहरुले दाना(पानी कम खुवाएर उत्पादन कम गर्न थालेका कारण अहिले उत्पादन बढ्न नसकेको उनले बताए। स्थानीयस्तरका बजारसँगै विवाह र पूजामा खपत बढेकाले पनि दूध संकलन केन्द्रमा ल्याउने परिमाण किसानले घटाएका छन्।
संकलन घटेर दूध बिक्री गर्नै समस्या भइसकेको छैन। यतिबेला पाउडर काम लागेको छ। बजारमा दूधको माग पुरा गरिरहेको अवस्था छ, महाप्रबन्धक पौडेलले भने, -लामो समय यस्तै भइरहे चाहिँ गाह्रो पर्छ। दूधको बिक्री पहिलेभन्दा २ प्रतिशतले बढेको उनले बताए।
पहिले दैनिक ५० हजार लिटर दूधको पाउडर दूध बनाउदै आएको संस्थानले पनि अहिले दैनिक १५ देखि २५ हजार लिटरमात्र दूधको कन्भर्जन गर्न थालेको छ। यसले गर्दा कच्चा दूधको उत्पादन घट्दा केही समयपछि यसको असर देखिने उनको भनाइ छ।
गाई-भैसी फार्मभन्दा व्यक्तिगतरूपमा पशुपालन गरेकाहरुले पेसा छाड्दा दूध उत्पादनमा नराम्रो असर परेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए। कोभिडका कारण पशुपालन घट्दै गयो। जसले २० देखि २५ प्रतिशत किसानहरु पलायन भएका छन्, उनले भने, -यसैको असर बिस्तारै देखा पर्न सुरु भएको छ।
कच्चा दूध संकलन परिमाण बढ्ने अनुमानविपरीत एकातिर उत्पादन नबढ्नु, अर्कातिर बजारमा माग बढ्नुले आपूर्ति प्रणालीमा प्रभाव देखिने अवस्था आएको उनले बताए।
दैनिक ३२ लाख लिटर दूध कलेक्सन भए पनि उपत्यकामा मात्र नभइ देशभर दूधको आपूर्ति कम छ, उनले भने, -यतिबेला जति उत्पादन छ, त्यतिले नै बजारको माग धानेको छ।ु संकलन परिमाण नबढेको अवस्थामा फागुन लागेपछि बजारमा दुग्धजन्य पर्दाथको अभाव देखिने एसोसिएसनले जनाएको छ। बीजमाण्डुबाट