इटहरीः नेपाली राजनीतिमा पछिल्लो एक दशकयता एउटा मुद्दा ‘हट केक’ बनिरहन्छ । नेतृत्व रुपान्तरण र पुस्तान्तरण । यतिबेला देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशन सकिएको छ । यता पहिलोपटक लोकतान्त्रिक ढंगले वडा तहबाट नेतृत्व चयन गर्दै आएको नेकपा माओवादी केन्द्रले कस्तो नेतृत्व चयन गर्ने हो ? , त्यो भने हेर्न बाँकी नै छ । अर्कोतर्फ कांग्रेस र एमालेको महाधिवेशनले उहीँ पुरानै अनुहारलाई नेतृत्वमा निर्वाचित गरिरहेको परिपेक्ष्यमा वैकल्पिक शक्ति भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूलाई दरिलो झापड दिएको छ । राप्रपाको केन्द्रीय कार्यसमितिलाई नियाल्दै गर्दा नेतृत्व मात्र हैन् बाँकी अधिकांश टिममा नै नयाँ जोससहितको युवाहरु देखिन्छन् ।
त्यसमध्येकी एक हुन्, २३ वर्षीया सदस्य सुस्मा मिश्र । नेपालको इतिहासमा २३ वर्षको उमेरमा कुनै राजनीतिक दलको केन्द्रीय सदस्यमा निर्वाचित हुने घट्ना बिरलै हुने गर्छन् । त्यसैले पनि राप्रपामा सुष्मा(पुस्ता)को उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसमा पनि राप्रपाको इतिहास आफैमा लामो हैन् । राप्रपालाई पञ्चायत कालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए ।
को हुन् ,सुष्मा मिश्र ?
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १५ निवासी युवा नेतृ हुन्, सुष्मा । राजनीतिक परिवारको पृष्ठभूमिमा हुर्केकी सुष्माको राजनीतिक चेत पनि सानै उमेरदेखी आएको देखिन्छ । तत्कालीन अबस्थामा देश द्वन्द्व र हिंसात्मक परिस्थितिबाट गुज्रिरहेको बेला उनको उनको औपचारिक राजनीतिक यात्रा सुरु भयो ।
वि.सं. २०७० सालमा तत्कालीन कमल थापा नेतृत्व राप्रपा निकट बिद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संघको बारा जिल्ला सचिव भइन्, जतिबेला उनी १६ वर्षकी थिइन् । लगत्तै एकवर्षपछी तत्कालीन कमल थापा नेतृत्व राप्रपाको बारा जिल्ला सदस्यमा मनोनीत भइन् । राजनीतिमा प्रवेश गरेपश्चात् एकपछि अर्को सफलता चुम्दै गरेकी सुष्माको यात्रालाई उनको बुबाको भरपुर साथ रह्यो । कारणः उनका बुबा पनि राप्रपाका राजनीतिज्ञ थिए ।
वि.सं. २०७५ मा भएको विद्यार्थी संघको अधिवेशनबाट सुष्मा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइन् उनि । बढ्दै गएको राजनीतिक चेत र यसप्रतिको मोहका कारण उनी कटिबद्ध रूपमा अघि बढ्दै रहिन् । यसैक्रममा राप्रपाको गत एकता महाधिवेशनमा उनी कमल थापा प्यानलबाट (खुल्ला महिलातर्फ) केन्द्रीय सदस्यमा उमेद्वारी दिइन् । र, १ हजार २ सय ८७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन् ।
अबको राजनीतिक भूमिका के रहन्छ ?
राजनीतिक दलको महत्वपूर्ण जिम्मेवारीमा युवापुस्ताको हावी हुन थालेको देखिन्छ । अबको राजनीतिमा उनीहरूले खेल्ने भूमिका कस्तो रहनेछ, त्यो भने भविष्यले देखाउँला । यद्यपि युवा पुस्ताप्रति नागरिकको अपेक्षा धेरै पाइन्छ भने अर्कोतर्फ युवा पुस्ता आफैमा ‘कन्फ्युज’ छन् । बुढा पुस्ता भनिएका नेताहरूलाई योगदान र देनलाई वेवास्ता गरेर जाने अबस्था पनि छैन् । युवा पुस्ताहरु राजनीतिप्रति वितृष्णित भइरहेको समयमा सुष्मा चाहिँ त्यही धारणा परिवर्तन गर्न चाहाँन्छिन् । सबैले राजनीतिलाई फोहोरी खेलको उपमा दिइरहेको बेला उनी त्यसलाई गलत साबित गर्न चाहेको सुनाउँछिन् । झट्ट सुन्दा मीठो लागे पनि उनको पार्टीभित्र यस कुराले निकै माने राख्छ ।
कारणः राप्रपालाई ‘बुढाखाडाको क्लब’, ‘पञ्चेहरुको समूह’ जस्ता ‘ट्याग’ हरु पनि लाग्ने गरेको छ । सुस्माले भने यसको खण्डन गर्दै अब राप्रपालाई युवाहरुको संगठन बनाइने बताइन् । देशमा कांग्रेस र कम्युनिस्टको एकमात्र विकल्प राप्रपा हुनेछ, उनले भनिन् । हाल उनी कानुन विषयतर्फ स्नातक तहमा अध्ययनरत छिन् । उनको विषय र योग्यताअनुसार उनी संसदीय फाँटमा समेत जाने चाह रहेको बताउछिन् । ‘युवा जोसले बोलेर मात्र हुँदैन काम पनि गर्नुपर्छ, उनले भनेकी छन्, म आगामी चुनावमा उपमेयर लडेर जनताको सेवा गर्ने सोचमा छु ।’