इटहरीः अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा नेपालबाट बाह्य मुलुकमा गरिने निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

पहिलेको आर्थिक वर्षमा कोरोना महामारीका कारण गरिएको विश्वव्यापी लकडाउनका कारण बाह्य व्यापार हुन सकेको थिएन । आर्थिक वर्ष २०७७÷७८ मा वैदेशिक व्यापारअन्तर्गत वस्तु आयातमा भएको उच्च वृद्धिका कारण देशको व्यापार घाटा पनि फराकिलो भएको छ । सो आर्थिक वर्षमा कुल वस्तु निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ० दशमलव ६ प्रतिशतले बढेको निर्यात गत आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ । सो निर्यातमध्ये भारत तर्फको निर्यात अघिल्लो आर्थिक वर्ष ११ दशमलव ८ प्रतिशतले वृद्धि भएकोमा यो वर्ष ५१ दशमलव ७ प्रतिशतले वृद्धि भई एक खर्ब ६ अर्ब ३७ करोड पुगेको छ । वस्तुगत आधारमा समीक्षा वर्षमा नेपालबाट भारततर्फ सोयाबिन तेल, अलैँची, जुटको बोरा, पोलिष्टर धागो, लगायतका सामग्रीहरु निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको गत आर्थिक वर्षको समीक्षागत आर्थिक प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा कुल निर्यातको अनुपात अघिल्लो आर्थिक वर्षमा २ दशमलव ५ प्रतिशत रहेकोमा यस आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशत पुगेको छ । यसैगरी चीन तर्फको निर्यातमा भने घट्दो क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४३ दशमलव ५ प्रतिशतले घटेको चीन तर्फको निर्यात समीक्षा वर्षको आर्थिक वर्षमा भने १४ दशमलव ७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७÷७८ मा नेपालबाट चीनतर्फ १ अर्ब २ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको छ । चीनतर्फ मुलतः ऊनी, गलैँचा, हस्तकलाका सामान, तयारी पोसाक, प्रशोधित छाला, पश्मिना लगायतका सामग्री निर्यात भएका छन् ।

भारत र चीनबाहेक अन्य मुलुकमा भएको निर्यातमा भने अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्ष १८ दशमलव २ प्रतिशतले घटेको निर्यात आर्थिक वर्ष २०७७÷७८ मा २७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ३३ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तुहरु तेस्रो मुलुकमा निर्यात भएका छन् । धेरैजसो ऊनी गलैँचा, तयारी पोसाक, पश्मिना, सुनचाँदीका सामान तथा गरगहना, चिया लगायतका वस्तुहरु भारत र चीन बाहेकका मुलुकमा निकासी भएको रिपोर्टले बताउँछ । यसैगरी निर्यातको तुलनामा आयात धेरै ठूलो अङ्कले वृद्धि भएको छ । समिक्षा अवधिमा कुल वस्तु आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । एक वर्षमा १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ बराबरका सामान नेपालमा आयात भएका छन् । अघिल्लो आर्थिक वर्षमा कुल वस्तु आयात १५ दशमलव ६ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ठूलो अङ्कले बढको छ ।

कुल आयातमध्ये भारतबाट भएको वस्तु आयातमा मात्रै ३२ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । एक वर्षमा मात्र भारतबाट ९ खर्ब ७१ ऋर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । उता चीनबाट अघिल्लो वर्षको तुलनामा २८ दशमलव ६ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको आयात भएको छ भने तेस्रो मुलुकबाट ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतबाट सवारीसाधन तथा स्पेयर पार्टस, एमएस बिलेट, धान तथा चामल, तयारी पोसाक, अन्य मेसिनरी तथा पार्टस लगायतका वस्तुको आयात गरेको पाइन्छ भने चीनबाट दूरसञ्चारका उपकरण, मेडिकलका सामान तथा पार्टस, तयारी पोसाक लगायतका वस्तुको आयात गरेको छ । 

नेपालमा भारत र चीन बाहेकका देशबाट कच्चा भटमासको तेल, सुन, कोइला, खाने तेल साथै मेसिनरी पार्टस पुर्जा लगायतका सामान आयात गर्ने गरेको छ । निर्यात र आयातको हिसाब गर्दा नेपालको आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु् व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले बढेको छ । अहिले नेपालको व्यापार घाटा १३ खर्ब ९८ अर्व ७१ करोड रुपैयाँ रहेको तथ्याङ्कले बताउँछ ।