इटहरीः साउनदेखि असोज मसान्त सम्ममा ६६ हजार ३ सय १६ जना नेपालीले नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् ।
देशमा राजगारी सृजना हुन नसकेपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर वैधानिक रुपमै जाने नयाँ नेपालीको संख्या ६६ हजार काटेको हो भने ३४ हजार ८ सय २३ जनाले पुनः स्वीकृति लिएका छन् । नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको पहिलो चौमासिकभन्दा ९६ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीका अवसर कम आएका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जान पाएका थिएनन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो ।
प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ७.६ प्रतिशतले कमी आई रु. २३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १२.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ४.२४ प्रतिशत रहेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ०.४५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्ष ३ महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु. ६५ अर्ब ५ करोड पुगेको छ । गत वर्ष यही महिना यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई रु. ४७८ अर्ब ५२ करोड पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । असोजसम्म कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले बढेर रु. ४१३ अर्ब ४७ करोड पुगेको छ । गत वर्ष यही अवधिसम्म यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता रु.१५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु.३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा २७ करोड ९९ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर वित्तीय स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको थियो ।