उर्लाबारीः सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम विवाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित भएकी छन् ।

श्रीमानले कुट्ने, पिट्ने र मार्ने सम्मको धम्की दिएपछि उदयपुरको त्रियुगा ८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई ८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसिरहेकी छन् । श्रीमान् मात्र होइन,सासु–ससुरा नन्द–आमाजु र देवरसमेत आफ्नो पक्षमा नभएपछि उनी ज्यान जोगाउन गत कात्तिक ११ गते इटहरा आइपुगेकी हुन । कुमारीका १२ र ८ वर्षका दुई छोराहरू छन् । कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघिदेखि अलग बस्दै आएकी थिइन् । श्रीमानले वर्षेनी श्रीमती फेरेको थाहा पाएपछि कुमारी घरसल्लाहमै एक्लै बस्न थालेकी थिइन् । वैदेशिक रोजगारीका लागि कतार जाउञ्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो । तर, खड्का कतारबाट फर्केर मलेसिया गएपछि कुमारीका दुःखका दिन सुरु भए । कुमारी भन्छिन्–‘मलेसियामै राई थरकी केटीसँग प्रेम बसेछ । त्यसपछि म र छोराहरूप्रति वेवास्था गर्न थाल्नुभयो । परिवारका सदस्यले समेत छोरो मान्छेले जति वटी ल्याए पनि तँलाई राम्रो ग¥यो भने भै गयो नि भनेर सल्लाह दिए । मैले पनि आफूभन्दा ठूलाको कुरा होला भनेर मानेँ । राई थरकी ती महिलाले पनि विष खाएर आत्महत्या गरिन् । उनको काजकिरिया पूर्वीय परम्परा अनुसार मेरै घरमा भयो । कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो भनेर म पनि खुसी थिएँ । तर, श्रीमानले मगर थरकी अर्की आइमाई राखेको रहेछ । दुई जना महिला बीच खटपट भएपछि राई थरकी महिलालाई विष खुवाएर मारेको भन्ने हल्ला सुनेँ । श्रीमानलाई केही दिन प्रहरीले पक्राउ गरेर छोडेको गाउँमै हल्ला भयो । महिला भएकोले सहनु सबै सहेकै थिएँ ।’

kr2

 

तर, सासु–ससुरा, देवर र नन्द– आमाजुले दसैँको टीकाको दिन श्रीमानलाई तेस्री श्रीमतीसहित घर भित्र्याउने स्वीकृति दिएपछि कुमारीले संसार सबै अध्यारो देखिन् । आफ्नै भनाउँदाले दुईभाइ छोरा र आफूलाई घर निकाल्ने तानाबाना बुनेको बुझेपछि उनले प्रहरी र स्थानीय प्रशासनमा उजुरी गरिन् । प्रहरी र स्थानीय प्रशासनले समेत सबैले मिलेर बस्नु भनेपछि कुमारीमाथि लगातार आक्रमण हुन थाल्यो । उनी भन्छिन्, ‘न्याय मरेपछि हरेक दिन कुटाइ खानुपर्ने, सासुले नै अर्को लोग्ने खोजेर जा भन्दै गाली गर्न थाल्नुभयो ।’ श्रीमानले कुट्ने, सासुले कुटुने, आफन्तजति सबै बिरानो भएपछि कुमारीले कात्तिक ११ गते घर छोडिन । उनले भनिन् –‘उदयपुरमा मेरो कुरा कसैले सुनेनन् । न पुलिसमा उजुरी लिइदिए । न समाजले मेरो पक्षमा बोलिदियो । महिला अधिकारकर्मीले पनि मिलेर बस्न सुझाए । त्यसैले न्याय खोज्दै दिदीको घरमा आएकी हुँ ।’ यतिबेला कुमारीको आँखामा आँसु सकिएको छ । निद्रा हराएको छ । आकाशको जुन झार्ने सपना देखाएर बिहे गरेको केटाल नै मार्ने, काट्ने र कुट्ने गरेपछि ज्यान जोगाएर उनी मोरङ आएकी छन् । उनी सोध्छिन्, ‘के अब मैले न्याय पाउँदिन त ?’