धरानः चित्रकलाको प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा तीन दिने चित्रकला प्रदर्शनी सोमबारदेखि शुरु भएको छ ।
धरान उपमहानगरपालिका अन्तर्गतको धरान प्रज्ञा प्रतिष्ठानको आयोजना तथा युवा कला केन्द्रको सहकार्यमा धरान–१८ स्थित विमल स्मृति पुस्तकालयको सभाहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो ।
चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर एवम् १५ नम्बर वडाका अध्यक्ष नरेशकुमार इवारमले गरे । प्रदर्शनीमा धरानका सांस्कृतिक, प्राकृतिक सौन्दर्य र सामाजिक विषयवस्तु झल्काउने ६५ वटा चित्र राखिएको प्रतिष्ठानका सदस्य सचिव हर्कजीत लिम्बूले बताए ।
असोज ६ गते धरानको भानुचोकमा भएको ‘चित्रकला कार्यशाला’ मा बनाइएका २४ वटा चित्र पनि प्रदर्शनीमा राखिएका छन् । धनकुटा र इटहरीका कलाकारका चित्र पनि प्रदर्शनीमा राखिएको उनले बताए ।
प्रदर्शनीमा धरानका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले विद्यार्थीले चित्रको अवलोकन गरेर धेरै ज्ञान लिने विश्वास व्यक्त गरे ।