इनरुवाः सुनसरीको हरिनगर–१ साविकको रामनगर भुटाहास्थित बालकृष्णा माविको खेलमैदानमा आइतबार रातभर साहित्यिक कार्यक्रम भएको छ ।
नेपाल– भारतमैत्री बहुभाषिक कवि सम्मेलनमा मंसीरको चिसोको पर्वाह नगरी स्वदेश तथा विदेशका हजारौ साहित्यकारले रात बिताए ।
सामाजिक विकासका लागि ऐक्यबद्धता नेपाल (एलाइन्स नेपाल)ले सुनसरीमा पहिलो पटक आयोजना गरेको नेपाल भारतमैत्री मुशायरा अर्थात बहुभाषिक कवि सम्मेलनका आकर्षण बनेका भारतीय कविको प्रस्तुतिले दर्शक स्रोताले चिसो रातलाई पनि बिर्सन पुगे ।
नेपालीसहित उर्दू, हिन्दी, उराँव, मैथली, थैथी भाषाका आमन्त्रित कविहरूले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा सङ्घीय सांसद ज्ञानेन्द्र कार्की, गाउँपालिका अध्यक्ष गफार अन्सारी, प्रदेश सांसद ताहिर अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका साथै सुरक्षा निकायका प्रमुख पनि सहभागी थिए । छिमेकी देश भारतका मोजमिल अन्सारी, जावेद मियाँ सहवाज मियाँ लगायतका मुशायरामा भुटाहा मुग्ध भएको हो ।
साँझ ८ बजे सुरु भएको मुशायरामा साहित्यकारले पालैपालो प्रस्तुति दिँदै जाँदा बिहान ४ बजे सम्म चल्यो ।
 
                    
        
        
                            
                                                            
        



















