इटहरीः इलामको देउमाई नगरपालिका २ पुङफुङ का ८५ वर्षीय टेकबहादुर मुखियाको छोराको कुटाइबाट मृत्यु भएको छ ।

गत श्रावण ७ गते छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते मुखियालाई उपचारार्थ झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पाल लगिएकोमा त्यहाँ उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा गएराति ९ः०० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।