इटहरीः मोरङको उर्लाबारी नगरपालिका ८ स्थित राजघाटमा छुरा प्रहार गरी एक किशोरको हत्या भएको छ ।
६ जना युवाहरुको समूहले अन्धाधुन्ध छुरा प्रहार गर्दा सोही स्थान घर भएका १७ वर्षीय अभिषेक चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीका अनुसार आज दिउँसो १ः१५ बजे भएको आक्रमणमा परी गम्भीर घाइते भएका चौधरीलाई उपचार्थ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई तत्काल मृत घोषित गरेका थिए । आक्रमणबाट २१ वर्षीय सुसन धामीसमेत घाइते भएका छन् ।
उनको अरनिको अस्पताल उर्लाबारीमा उपचार जारी रहेको छ । फुटबल खेलका विषयमा हिजो दुई समूहका युवाहरुबीच भएको विवादका कारण चौधरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले हत्यामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाई घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।