इटहरीः मोरङको सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूह तत्कालीन कुनै पार्टी वा सङ्गठनमा आस्था बोकेका व्यक्ति हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको (स्पेसल टाक्स फोर्स) ले मात्र प्रयोग गर्ने स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी) र पेस्तोलसहितको समूहका सदस्यहरू विगतका भूमिगत सङ्गठनका कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ । यो समूहले उक्त सुन पसल लुट्ने पूर्वयोजना बनाएको र यसमा तीन जना मात्र नभई अन्य केहीको समेत संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन पसल लुट्ने योजना सफल नभएपछि उनीहरू तत्काल फरार हुनु र यतिका समयसम्म पक्राउ नपर्नुले पनि यो समूहको सञ्जाल ठूलै रहेको प्रहरीको अनुमान छ । घटना अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो लुटपाटमा अपराधीले अपनाएको तौरतरिका केही भिन्न छ ।
घटनाको अनुसन्धान र लुटेरा समूहको खोजीमा सक्रिय एक प्रहरी अधिकृतका अनुसार यो समूह फरार हुँदा अलग अलग बाटो र धेरै सवारी साधन प्रयोग गरेको देखिन्छ । ‘विभाजन भएर उनीहरू फरार भएका थिए’, प्रहरी अधिकृत भन्छन् ‘सुरुमा नम्बर प्लेट बिनाको बाइकमा उनीहरू भागेको देखिन्छ, पछि धेरैवटा सवारी साधन परिवर्तन गदै भागेको अवस्था छ । प्रहरीको उपस्थिति कम हुने ठाउँ भएकाले पनि उनीहरूले सो पसललाई ‘टार्गेट’ गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहको नजिक पुगेको बताउँछन् । ‘केही उपलब्धि भएका छन् र हामी उनीहरूको करिब करिब नजिक छौ’, उनले भने । यो समूहमा संलग्न व्यक्तिहरू विगतमा कुनै सङ्गठन वा पार्टीका कार्यकर्ता हुन सक्ने आधार समेत देखिएको कारण सबै कोणबाट अनुसन्धान र खोज तलास भइरहेको जिसीले बताए । जति नै ठुलो समूह र जस्तोसुकै ‘ब्याक ग्राउन्ड’का व्यक्ति भएपनि उनीहरू पक्राउ पर्ने उनले बताए ।
‘पक्राउ गर्न केही समय लाग्न सक्छ तर समाजमा अझै हतियारको बलमा नागरिकलाई आतङ्क सृजना गर्नेहरूको नतिजा भने राम्रो हुन्न ’। अहिले जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम यो समूहको खोजतलासमा छ । लुटपाट गर्न आउने यो समूह तत्कालीन जातीय भूमिगत सङ्गठन, पूर्व माओवादी लडाकु वा नेपाल कम्युनिस्ट पार्टी– विप्लव समूह (हाल शान्तिपूर्ण राजनीतिमा आएको पाटी) का कार्यकर्ताहरू हुनसक्ने प्रहरीको बुझाइ छ । उनीहरूले प्रयोग गरेको स्वचालित हतियार (एसएमजी) यी समूहसँग मात्र हुन सक्ने प्रहरी बताउँछ । यी समूहले तत्कालीन समयमा प्रयोग गरेका हतियार अझै पनि लुकाएर राखेको अवस्था छ ।