इटहरीः कोरोना भाइरसको संक्रमणदर उच्च भएपछि सुनसरीको धरान उपमहानगरपालिकामा निषेधाज्ञामा कडाइ गरिएको छ ।
इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले धरानमा संक्रमण तथा मृत्युदर उच्च रहेकाले निषेधाज्ञा कडा बनाउने निर्णय गरेको डीसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । निषेधाज्ञामा कडाइ गरिएपछि अब धरानमा तरकारी पसलहरु बिहान ०९ः०० बजेसम्म र अन्य पसलहरु बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । संक्रमण विस्तारको खतरालाई कम गर्न विजयपुरस्थित प्रसिद्ध शिव मन्दिर पिण्डेश्वरमा भक्तजनको प्रवेश पूर्ण रुपमा निषेध गरिएको छ । मन्दिर आसपासका फलफूल तथा पूजा सामग्रीका पसलहरुसमेत बन्द गराइएको छ ।
पिण्डेश्वर प्रवेश गर्ने गौधारास्थित सडकदेखि नै प्रहरीले मानिस तथा सवारीलाई फर्काउने गरेको छ । साउन महिनाको हरेक सोमबार पिण्डेश्वरधाममा दर्शनार्थीको बाक्लो उपस्थितिमा चतरा नदीको जल महादेवलाई अर्पण गर्ने गरिएको थियो । दुई वर्षयता भने यो कार्यक्रममा सरकारले रोक लगाउँदै आएको छ । मन्दिरहरुमा नियमित पूजाबाहेक अन्य कुनै जमघटजन्य गतिविधि नगर्न प्रशासनले यसअघि नै सचेत गराइसकेको छ । केही दिनअघि उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा सडकमै तीन जना संक्रमित फेला परेका थिए । त्यसपछि संक्रमण समुदायमा फैलिसकेको निष्कर्ष निकाल्दै प्रहरीले निषेधाज्ञा कडाइका साथ पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । नगर क्षेत्रमा संक्रमण र मृत्युदर दुवै बढेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको अभिलेख छ ।