इटहरीः प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरु गरेको छ ।
१४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण सुरु गरिएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आजसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाइएको छ । उनका अनुसार भोलि सम्ममा प्रदेश १ का सबै जिल्लाहरुमा खोप वितरण भइसक्ने छ ।
प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ( २ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुखु शाहले जानकारी दिए । उनका अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसन खोप वितरण सुरु गरिने छ । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाइने प्रदेश सरकारको तयारी छ ।