इटहरीः एनआइसी एसिया बैंकले डिजिटल बैंकिङ्ग मार्फत मोबाइल बैकिङबाट आफ्ना ग्राहकलाई आईपीओ भर्ने सकिने व्यवस्था गरेको छ ।

लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक मोबाइल बैंकिङ्ग एपमार्फत् विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । अब एनआईसी बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिने ग्राहकले खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने बताइएको छ । कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि यस्तो सेवा सुरु गरेको बैंकले बताएको छ ।

बैंकको मोबाइल एप प्रयोगकर्ताहरूले एप भित्र रहेको एप्लाइ सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिने र त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सब्मिट गरेपश्चात् आवेदन पूरा हुने बैंकले जानकारी दिएको छ । नयाँ ग्राहकले बैंकमा बचत खाता खोलेर मोबाइल बैंकिङ डाउनलोड गरी बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बताइएको छ ।