धनकुटाः मध्यपहाडी लोकमार्गको हिले भोजपुर सडकखण्डको धनकुटाको पञ्चेमा आइतबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको धनकुटाका प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए । झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको थियो । बस सडकमा पल्टिएर दुर्घटना भएको हो ।
बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । बसमा जम्मा ३५ यात्रु सवार रहेको बताइएको छ ।