धरानः सुनसरीको धरानमा कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन श्रावण ११ गते सोमबारदेखि लगाइने उपमहानगरपालिकाले जानकारी दिएको छ ।

आइतबार उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै चिनियाँ कोभिड विरुद्धको खोप भेरोसेल ५ हजार र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन पनि ५ हजार नागरिकहरुलाई धरानका ७ वटा खोप केन्द्रहरुमा लगाइने धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्तर्गत धरानको छाता चोकस्थित स्वास्थ्य चौकीमा भेरोसेल खोप अभियान ११,१२,र १३ गते तीन दिन र अन्य केन्द्रहरु पाँचकन्या स्वास्थ चौकी ठिङाबारी, विष्णुपादुका स्वास्थ चौकी, सभागृह धरान ८, आधारभूत स्वास्थ केन्द्र धरान १३, पूर्वाञ्चाल ज्ञानचक्षु विद्यालय धरान १५ र कार्मेल हाइ स्कुल धरान १८ मा ११ र १२ गते गरी दुई दिन भेरोसेल खोप अभियान सञ्चालन हुने भएको हो । भेरोसेल खोप ५५ वर्षमाथि उमेर समुहका खोप लगाउन बाँकी ज्येष्ठ नागरिकहरु, विश्वविद्यालय –विद्यालयका प्राध्यापक र शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालकहरु, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको लागि लगाइने भएको हो ।

FB_IMG_16272032317352824

त्यसैगरी, अमेरिकी खोप जोन्सन एन्ड जोन्सन पनि सोही केन्द्रहरुमा १४ र १५ गते लगाइने जानकारी उपमहानगरपालिकाले दिएको छ । १६ गते भने धरान स्वास्थ चौकी छाता चौकमा एक दिन थप गरिने उपमहानगरपालिकाले जनाएको छ । उक्त खोप भने ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ सँस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुको लागि रहेको उपमहानगरपालिकाले जनाएको छ । कोरोना विरुद्धको अभियानमा धरानका सञ्चारकर्मीहरुको महत्त्वपूर्ण भुमिका रहेको भन्दै स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धन्यवादसमेत व्यक्त गरेका छन् । मेहेताका अनुसार खोप बिहान १०ः०० बजेदेखि नागरिकहरुलाई लगाउन सुरु गरिने छ । सार्वजनिक यातायातका चालक र सह–चालकहरुले धरान ८ सभागृह र सञ्चारकर्मीहरुले धरान १३ को स्वास्थ्य सेवा केन्द्रमा मात्र खोप लगाउन स्वास्थ महाशाखा प्रमुख मेहेताले जानकारी अनुरोध गरे ।

DSC08629