इटहरीः झापामा जिल्ला प्रशासन कार्यालयले अहिले लकडाउन गर्ने निर्णय नगरेको सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले बताएका छन् ।

उनले धेरै नागरिकहरुमा कोरोना संक्रमण बढेकाले लकडाउन होला कि भन्ने डर रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिमालले अहिले निषेधाज्ञा नहुने बताए । यस्तै, जनतालाई पनि निर्धक्कसँग तोकेको मापदण्ड अनुसार काम गर्न सुझाएका छन् । आगामी साउन १४ गतेसम्म झापामा बढी भीडभाड हुने पसल व्यवसाय सञ्चालनमा रोक लगाइको उनले बताएका छन् । ‘अहिले निषेधाज्ञा लागु गर्ने हाम्रो कुनै तयारी छैन । गृह मन्त्रालयबाट नै हामीलाई लामो तथा छोडो दूरीका सवारी साधन सञ्चालनको अनुमति दिएकाले सोही अनुसार सवारी साधन पनि सञ्चालन गर्न अनुमति दिएका छौँ’, उनले भने, ‘तर, बढी भीडभाड हुने पसल व्यवसाय सञ्चालनमा भने हामीले रोक लगाएका छौँ । यो निर्णय साउन १४ गतेसम्म जारी रहने छ ।’ झापाकै दमक नगरपालिकाले नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट साउन ११ गते बिहान ४ बजेदेखि साउन १७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा कोरोना संक्रमणको दर हेरेर स्थानीय पालिकाले आफैँ आंशिक वा पूर्ण लकडाउन लगाउन सक्ने निर्णय भएकाले त्यहाँ लकडाउन लागु भएको स्पष्ट पारे ।

यता, मोरङमा पनि पूर्ण निषेधाज्ञा वा लकडाउन लागु गर्ने कुनै तयारी भएको छैन । गत साउन ९ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मोरङको बैठकले आगामी साउन १४ गतेसम्म परिमार्जित निषेधाज्ञा याथावत राखेको छ । मोरङका सहायक प्रमुख जिल्ला महेशराज तिम्सिनाले अहिले नै लकडाउन गर्ने तयारी नरहेको बताए । तर, केही दिनयता कोरोना संक्रमितको संख्या बढेकाले सजगताका लागि निषेधाज्ञा केही परिमार्जित गरिएको उनले जानकारी दिए । ‘अहिले नै त निषेधाज्ञा गर्नुपर्छ भन्नेमा हामी छैनौँ । तर कोरोना संक्रमित बढ्दै गए त्यो लागु गर्नुपर्ने अवस्था पनि आउन सक्छ’, उनले भने, ‘कोरोना बढ्न थालेकाले हामीले साउन ७ गतेदेखि पहिले बिहान ०५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म खुल्दै आएका पसलहरु हामीले बिहान ०५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मात्र खुलाउन दिएका छौँ ।’ जिल्लाको भारतसँग खुल्ला सीमा जोडिएका कारण पनि कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले नाकामा आवतजावतमा कडाइ गरिएको बताए । यस्तै, सार्वजनिक यातायात अहिले निर्वाध रुपमा सञ्चालन भए पनि संक्रमण थप बढे त्यसमा पनि अंकुश लगाइने उनले बताए ।

यी दुई जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अन्यभन्दा बढी रहेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को तथ्याङ्गक अनुसार अहिले झापामा २ हजार ६ सय र मोरङमा १ हजार ८७० जना सक्रिय संक्रमित रहेका छन् । यी जिल्लामा दैनिक मृत्युदर पनि उल्लेख्य रहेको छ । दैनिक दुई जिल्लामा ५ जनासम्मको मृत्यु हुने गरेको मन्त्रालयले जानकारी दिएको छ । यी जिल्लामा मात्र होइन, प्रदेश १ मा नै पछिल्लो समय कोरोना संक्रमितको संख्या र यसबाट मृत्यु हुनेको संख्या बढ्दो छ । हाल प्रदेशमा दैनिक १० जनासम्मको मृत्यु हुने गरेको मन्त्रालयको तथ्याङ्गकले देखाउँछ ।