इटहरीः कोरोना भाइरसले पुनः गत वर्षकै लय पछ्याउन थालेको छ ।
यही कारण कतिपय स्थानीय तहले निषेधाज्ञा लागु गर्न थालेका छन् । गत केही महिना कम प्रभाव परेको कोरोना महामारीले चैतबाट आफ्नो प्रभावलाई थप सक्रिय बनाउँदै लगेको थियो । सोही कारण पसलदेखि शिक्षण सँस्था सबै बन्द भएका थिए । अहिले पुनः कोरोना महामारी बढ्दै गए पनि सरकारले रोकिएका परीक्षा धमाधम गर्दै छ भने पसल व्यवसाय पनि निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । यसले कोरोना महामारीले थप महामारीको रुप धारण गर्ने चिकित्सकहरु बताउँछन् । इटहरीमा पनि अहिले कोरोना संक्रमित बढिरहेका छन् । कोरोना संक्रमित बढ्दै गए पनि अहिले इटहरीका विभिन्न क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा सञ्चालन भइरहेको छ । यस्तै, पसल व्यवसाय पनि निर्वाध रुपमा चलिहरका छन् । यसले इटहरीमा कोरोना संक्रम थप जटिल बनेको इटहरी आइसोलेसनका इन्चार्ज शिवकुमार झा बताउँछन् । निषेधाज्ञाको समयमा भन्दा अहिले कोरोना संक्रमितको संख्या बढदै गएको भन्दै उनले यसमा सबैले सजगता अपनाउनुपर्ने बताए ।
इटहरीमा अहिले कोरोना संक्रमण नभएझैँ दैनिकी सामान्य हुँदै गएको र यसले आगामी दिनमा भयावह अवस्था निम्त्याउन सक्ने उनले बताए । सामान्य जीवनयापन मात्र होइन, विभिन्न निरन्तर रुपमा भइरहेको परीक्षाले पनि संक्रमणको खतरा झन् बढाएको छ । परीक्षा हल भित्रको सामान्य स्वास्थ्य मापदण्ड पालना र परीक्षा हलबाहिर हुने सयौँको भीडले कोरोना बढ्न थालेकोमा चिकित्सकले दुःख व्यक्त गरेका छन् । चिकित्सकले निषेधाज्ञा नै कोरोना नियन्त्रण गर्ने अचुक उपाय भएको भने पनि विद्यार्थी र व्यवसायी भने निषेधाज्ञाको पक्षमा देखिँदैनन् । विद्यार्थीहरु तीन वर्षसम्म एउट तहमा अध्ययन गर्दा आफ्नो भविष्य अन्योलमा परेको बताउँछन् । यता, व्यवसायी भने लामो समयसम्मको निषेधाज्ञाका कारण आफूहरु पलायन नै हुनुपर्ने अवस्था आएको बताउँछन् ।
‘दुई वर्ष भइसक्यो राम्रोसँग व्यवसाय चालाउन नपाएको । अझै कति घर बस्ने’, इटहरीम कपडा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीले भने, ‘अब पनि यस्तै भयो भने हामी ऋणमा डुब्ने अवस्था आउँछ । हामीले व्यवसाय नै छोड्नुपर्ने हुन्छ ।’ उनीजस्तै इटहरीका प्रायः व्यवसायीको एकै स्वर छ । इटहरीमा निषेधाज्ञा नै लागु गर्नुपर्ने भए त्यसको ढाँचा परिमार्जन गरेर व्यवसायीलाई राहत हुनेगरी लागु गर्नुपर्ने उद्योग वाणिज्य संघका प्रतिनिधिहरु बताउँछन् । इटहरी उपमहानगरपालिकाले अहिले निषेधाज्ञा लागु गर्ने घोषणा भने गरेको छैन । झापाको दमक नगरपालिकाले लकडाउन लागु गर्ने भएपछि अन्य पालिकाले पनि लकडाउन वा निषेधाज्ञा लागु गर्नेमा धेरै सशंकित छन् ।