इटहरीः सरकारले आज पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ ।

स्वास्थ्य मन्त्रीको स्थान रिक्त हुँदा कोरोना महामारीको व्यवस्थापनमा समस्या भइरहेको गुनासालाई सम्बोधन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका समानुपातिक सांसद तथा व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त पनि गरिसकेकी छन् । नवनियुक्त राज्यमन्त्री श्रेष्ठ काठमाडौँको लिटिल एन्जल स्कुलका सञ्चालक तथा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का पूर्वअध्यक्षसमेत हुन् ।

सरकारमा सहभागी दलहरुबीच मन्त्रालय बाँडफाँटको निर्णय हुन बाँकी रहेकाले प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैँसग राख्दै राज्यमन्त्री मात्र नियुक्त गरेका हुन् । भोजपुर घर भएका नवनियुक्त मन्त्री श्रेष्ठ विद्यालय सञ्चालनदेखि जग्गा र होटलको व्यवसायमा समेत सक्रिय कारोबारी हुन् ।

2. मा. मन्त्रीको कार्यभार तोक्नु भएको_विज्ञप्ति _2078-4-10