इटहरीः मोरङको विराटनगर महानगरपालिका–१६ दरैयामा आज बिहान बेवारिसे शव फेला परेको छ ।

कालो पेन्ट र सेटो रङ्गको सेन्डो गञ्जी लगाएका अन्दाजी २५÷३० वर्षीय पुरुष मृत फेला परेकोमा हालसम्म उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीका अनुसार दशगजाभन्दा एक सय मिटर वरको नेपाली भूमिमा शव फेला परेको जानकारी स्थानीयहरुबाट पाउनासाथ इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।

मृतकको फरेन्सिक परीक्षणका लागि चिकित्सक टोलीसमेत प्रहरीका साथमा गएको एसपी जीसीको भनाइ छ । घटनाको कारण खुल्न नसकेको बताउँदै प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान अगाडि बढाई सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ ।