इटहरीः देशभरका यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी केन्द्रीय महासंघले पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागको सुनुवाइ नभएको भन्दै सरकारलाई चाबी हस्तान्तरण गरेको छ ।
सरकारले मागको सुनुवाइ नगर्दा चार लाख व्यवसायी तथा नौ लाख स्वरोजगार व्यवसायी एवम् मजदुरहरु समस्यामा परेको भन्दै महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गई चाबी सरकारलाई हस्तान्तरण गरेको हो । “प्रधानमन्त्री तथा मनिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, सबै प्रदेश मन्त्रालय, साथै नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभागलगायतका यातायातसँग सरोकार भएका सम्बन्धित निकायहरुमा यातायात क्षेत्रका समस्या समाधानका लागि पटक–पटक यस महासंघमार्फत लिखित रुपमा मागपत्र पेस गरिएकोमा सरकारका कुनै पनि निकायहरुबाट समस्या समाधान भएन,” यातायात व्यवसायीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यातायात व्यवसायसँग आबद्ध व्यक्तिलाई कोरोना विरुद्धको खोप दिनुपर्ने, यातायात भाडा समायोजन गर्नुपर्ने, ट्याक्सीको पहिलो कल समायोजन गर्नुपर्ने, २० वर्ष पुगेका सवारीको अवधि थप्नुपर्ने, यातायात बिमा छुट दिनुपर्नेजस्ता माग राखी आन्दोलनरत महासंघले साउन ७ गते यातायात व्यवस्था विभागको कार्यालय घेराउसमेत गरेको थियो ।