इटहरीः झापाको झापा गाउँपालिका २ स्थित बेलाइतिबारीबाट प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय गौरी मण्डल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो मध्यान्न भारतबाट मोटरसाइकलसहित नेपालतर्फ आइरहेका अभियुक्त मण्डलका साथबाट स्रोत नखुलेको ४० लाख ३७ हजार ६७० रूपैयाँ बरामद गरिएको छ । बरामद भएको रकम अभियुक्तले अवैध रुपमा पैसा पठाउने हुन्डी कारोबारमा प्रयोग गरेको हुनसक्ने भएकाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय भद्रपुरको जिम्मा लगाइएको जनाएको छ ।