इटहरीः मोरङको केराबारी गाउँपालिका–३ स्थित हचुवा खोलामा डुबेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा भोजपुर घर भइ केराबारी–३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पौडी खेल्ने क्रममा शनिबार अपराहन्न ४ः०० बजे युवक खोलामा बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै खोजीकार्यमा जुटेको प्रहरीले सोही दिन राति ९ः०० बजे श्रेष्ठको शव फेला पारेको थियो । मृतकको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।