इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ का २२ वर्षीय निर्मल श्रेष्ठको अपहरण गरी कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार अपहरित युवक श्रेष्ठलाई इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै कुटपिट गरिरहेकै अवस्थामा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको हो । ‘घटनास्थलमा प्रहरी टोली पुग्दा तीन जना मिलेर कुटपिट गरिरहेको पाइयो,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।’

अभियुक्तहरुले गत बिहीबार अपराहन्न १ः०० बजे नम्बर नखुलेको सीटी सफारीमा राखी श्रेष्ठलाई अभियुक्तमध्येका संगीत थापाको घरमा पुर्याई बन्धक बनाएका थिए । अपहरण गरेको भोलिपल्ट अभियुक्तहरुले श्रेष्ठलाई बन्धक बनाइएको घरभन्दा पर लगेर कुटपिट गरेका हुन् । घटनाको जानकारी पाएलगत्तै परिचालित प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी पीडितको उद्धार गरिएको जनाएको छ । पीडितको जाहेरीका आधारमा अभियुक्तहरुउपर अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले स्पष्ट पारेको छ ।