इटहरीः सप्तकोशीले तटबन्ध भत्किदा नेपाली सीमा नजिकै भारतको विहारका दुई जिल्ला डुबानमा परेका छन् । नेपालमा रहेको कोशी ब्यारेज क्षेत्रभन्दा करिब आठ किलोमिटर दक्षिणमा सप्तकोशीले तटबन्ध भत्किदा सप्तकोशीको पानी दुई जिल्लाका बस्तीमा पस्दा डुबानमा परेका हुन् ।
बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोशी नदी तटबन्ध भत्काएर बस्तीमा पसेको हो । सप्तकोशी नदीको पानी पस्दा सुपौल र मधुवनी जिल्लाको धेरै बस्तीहरु डुबानमा परेको छ ।
बाँध फुटेको स्थानमा पुगेका भारत बिहार राज्यको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्टेड (डीएम) महेन्द्रकुमारका अनुसार शुक्रबार बिहान नेपाली समय समय अनुसार १० बजे सुपौल जिल्लाको सिकरहाटामा कोशीको बाँध फुट्दा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।
उनले कोशी नदिको पानी वस्तीमा पसेपछि हजारौ मानिसहरु विस्थापित हुन पुगेको र सयौ घरहरु डुवानमा परेको जानकारी दिए । बाध फुटेको स्थान सुनसरी र सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत सिकरहाटा नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर दक्षिणमा रहेको छ ।
सुपौलका एसपी मनोजकुमारले बाँध फुटेपछि बिहार राज्यको सुपौल र मधुवनी जिल्लाको दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँका पानी पस्दा पुरै वस्ती डुवेको बताए ।
कोशी नदी फुटेपछि ज्यान जोगाउन भागेका भारतीय नागरिकहरु भारतीय राष्ट्रिय राजमार्ग एनएच ५७ लगायतका स्थानमा आएर बसेका छन् ।
कोशी नदिको बाध फुटेर वस्तीमा पानी पसेपछि भारतिय सुरक्षाअधिकारीहरुले नेपालको सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउँदै थप क्षति हुन नदिन बाँध भत्किएको स्थानमा मर्मत सुरु गरेका छन ।
यता हाल कोशी व्यारेजका २२ वटा ढोकाहरु खुल्ला राखिएको छ । बिहारमा पानीले ठुलो क्षति पु¥याउने अनुमान गर्दै कोशी व्यारेजमा भारतीय पक्षले ढोकाहरु धेरै संख्यामा बन्द गर्ने सम्भावना देखिएको छ ।
यसरी पानी रोक्न कोशी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने सम्भावना देखिन्छ । जानकारहरुका अनुसार पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोशी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उत्तरी क्षेत्रमा पानी जम्मा भई ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने सम्भावन रहन्छ ।
स्मरणीय रहोस, २०६५ साल भदौ २ गते विहान सप्तकोशी नदीले नेपालतर्फ कोशी टप्पु बन्य जन्तु आरक्षभित्र पर्ने तटबन्ध भत्किाएर बस्तीमा पस्दा नेपालसँगै भारततर्फ ठूलो जनधनको क्षति गरेको थियो ।
नेपालतर्फको पश्चिमकुशाहा, हरिपुर, श्रीपुर लौकही गाविस पूर्ण रुपमा प्रभावित हुँदा छ हजार परिवार विस्थापित बनेका थिए भने भारत विहारको सुपौल जिल्लामा समेत ठूलो क्षति पु¥याएको थियो ।