धरानः धरानमा दैनिक रुपमा कोरोना संक्रमणदर बढेको कारण उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन सुरु गरेको छ । शुक्रबार उपमेयर मञ्जु भण्डारीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य महाशाखा र स्वास्थ्यकर्मीहरुसहितको टोलीले अनुगमन गरेको हो ।
धरानमा निषेधाज्ञा खुकुलो भएसँगै दैनिक कोरोना संक्रमितको संख्या बढ्दो छ । अनुमगनको क्रममा मानिसहरु माक्स प्रयोग नगरी हिडिरहेको पाइएको थियो । बिहीबार उपमहानगरपालिकामा सरोकारवालाहरुसँग बसेको छलफलले कोभिड १९ संक्रमण तिब्र गतिमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने स्थान र कोरोना संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा अनुगमन निर्णय भएको थियो । सोही निर्णय अनुसार हिजो धरानको बजार क्षेत्र अनुमगन गरिएको उपमेयर भण्डारीले बताइन । संक्रमणदर बढेको कारण जनस्तरबाटै लकडाउन गर्नुपर्ने दबाब आईरहेको उनले बताइन ।
लामो समयको बन्दाबन्दीको कारण भर्खरै मात्र बजार खुलिरहेको छ । नागरिकहरुको दैनिक जनजीवन कष्टकर भईरहेको छ । भीडभाड नियन्त्रण गर्न र मास्क सेनिटाईजर अनिवार्य गराउनको लागि बजार अनुमगन गरिएको उपमेयर भण्डारीले बताइन । भिडभाड नियन्त्रण गर्न सकियो भने कोभिडबाट बच्न सकिने उनको भनाई छ । बजार अनुगमनको क्रममा उपमेयरसहितको टोलीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै व्यापारी र उपभोक्ताहरुलाई मास्क समेत वितरण गरेका थिए ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानमा कोरोना संक्रमितको अवस्था बढ्दै गएको मृत्युदर पनि बढ्दै गईरहेको जानकारी दिए । हिजो अनुगमनको क्रममा भाीडभाड हुने स्थल माछाभौडी र सब्जीमण्डी गएको उनले जानकारी दिए । माछाभौडी र सब्जीमण्डीमा नागरिकहरुको एन्टिजेन समेत परिक्षण गरिएको थियो । सब्जीमण्डीमा २६ पुरुष र ११ जना महिला गरि ३७ जनाको परिक्षण गरिएको थियो । सब्जीमण्डीमा १ जना महिलालाई पोजेटिभ देखिएको मेहताले बताए । यस्तै, माछाभौडीमा २८ पुरुष र ६ जना महिला गरि ३४ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
माछाभौडीमा २ जना पुरुषमा पोजेटिभ देखिएको उनँले बताए ।
अनुगमन टोलीले भानुचोक क्षेत्र, सब्जी मण्डी र माछाभौडीमा अनुगमन गरेका थिए । ‘अनुगमनको क्रममा मानिसहरुले मास्क नलगाएको, धेरै भीडभाड गरेको पाईयो, दुरी कायम नगरेको, एकदमै अस्तव्यस्त देखियो,’ उनले भने । मास्क नलगाउनेलाई अनुगमनको पहिलो दिन भएको कार्बाही नगरिएको उनले बताए । उनले भोलीदेखि मास्क नलगाई हिडेको भेटिएमा संक्रमक रोग ऐन २०२० अनुसार कार्बाही गरिने बताए ।