इटहरीः पाँचथरको फिदिम नगरपालिका १ चौतारेलाइनमा घाँटीमा डोरी कसिएर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय मित्र रामदामका १० बर्षीय छोरा निशान रामदाम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज दिउँसो घरमा कोही नभएको अवस्थामा डोरीले घाँटी कसिएर बालक गम्भीर घाइते भएका थिए ।

सुँगुरको चारो लिन गएकी बालककी आमा घर फर्कँदा बालकलाई घाइते अवस्थामा फेला पारेपछि उपचारार्थ अस्पताल पुर्याइएको थियो । तर अपराहन्न ३ः३० बजे अस्पतालका चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए । लुगा सुकाउने डोरीमा घाँटी कसिएर बालकको ज्यान गएपछि घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।