इटहरीः सप्तकोसी नदीको नेपाली भूभागमा निर्मित कोसी बराजभन्दा आठ किलोमिटर दक्षिणतर्फ रहेको भारतीय भूमिमा कटान सुरु भएको छ ।

कोसी बराज कन्ट्रोल रुमका अनुसार भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको सिकरहाटा भन्ने स्थानमा निर्मित तटबन्ध कटानमा परेको हो । तटबन्ध कटान हुन थालेपछि भारतका सुपौल र मधुवनी जिल्लाका विभिन्न क्षेत्र जलमग्न भएको सुपौलका डिस्ट्रिक मजिस्ट्रेट महेन्द्रकुमारले जानकारी दिए । कोसीको पानी बस्तिमा पसेपछि हजारौँ घरहरु डुबानमा परी मानिसहरु विस्थापित हुन पुगेको मजिस्ट्रेट महेन्द्रकुमारको भनाइ छ । बिहार राज्यको सुपौल र मधुवनी जिल्लाको दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ बाढीबाट प्रभावित भएको मधुवनी जिल्लाका प्रहरी प्रमुख (एसपी) मनोजकुमारले जानकारी दिएका छन् ।

बाढीको क्षति न्यूनीकरण गर्न भारतीय अधिकारीहरु नेपाली सीमानजिक रहेका बाँधहरुको मर्मतसम्भारलाई तिव्रता दिएका छन् । बाढीग्रस्त क्षेत्रका स्थानीय भारतीय नागरिकहरु राष्ट्रिय राजमार्ग एनएच ५७ आसपासमा बस्न बाध्य भएका छन् । हाल कोसी बराजका २२ ओटा ढोका खुला गरिएको कन्ट्रोल रुमले जनाएको छ ।