प्रकाश बन्जारा

इटहरीः शेयर बजारमा अनलाइनबाट सहजै रुपमा प्रवेश गर्न पाउने भएपछि लगानीकर्ता ह्वात्तै बढेका छन् । तर यसरी बढेका लगानीकर्ताहरु दोश्रो बजारमा क्रियाशील भने होइनन् ।

यो संख्या केवल संख्यामा मात्र बढेको हो । जो प्राथमिक बजारमा साधारण शेयर भर्नका लागि धेरैले डिम्याट खाता खोलेर संख्यात्मक रुपमा नेपालको शेयरबजारलाई ठूलो देखाइरहेका छन् । हाल धितोपत्र खरिदका लागि डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाखभन्दा माथि रहेको छ भने बजारमा सर्वसाधारणको लागि जारी हुने हरेक आईपिओमा नयाँ रेकर्ड कायम हुन थालेका छन् । अहिले प्रायः जसो जुनै कम्पनीको आईपिओ आएपनि थामिनसक्नुको आवेदन पर्ने गरेको छ र सबैले एक पछि अर्को नयाँ रेकर्ड कायम गर्ने गरेका छन् । जसले नव प्रवेशी केही लगानीकर्तालाई मालिक बनाउँदैछ भने पहिलेदेखि शेयर बजार बुझेकाहरु र आइपिओमा पल्केकाहरु आइपिओबाट पर हट्न थालेका छन् ।

यसको एउटै कारण भनेकै शेयर पर्न छोड्नु हो । यसै पनि मागजति सेयर दिन सक्ने कम्पनी निस्केका छँदै छैनन् । उता १० किक्ता शेयर नै दिनको लागि पनि लगानीकर्ता धेर्रै भएको हुँदा सम्भव भएको छैन । अरुले भनेको सुनेर डिम्याट खाता खोलेर साधारण शेयर भर्ने कतिपय नव प्रवेशी लगानीकर्ता त ४ ÷५ चोटिसम्म कुनै शेयर नै नपर्दा आफ्नो खाता नै बिग्रेको हो कि भन्ने भयले बैंक तथा ब्रोकर कम्पनीमा धाउन थालिसकेका छन् । अब अहिले सक्रिय भएका डिम्याट खाताका धनीलाई मात्र १० कित्ताका दरले पुग्ने शेयर निस्कासन गर्नुपर्यो भने ३५ करोड कित्ता शेयर निष्कासन गर्नुपर्ने हुन्छ । त्यसको लागि अंकित मुल्य १०० ले हिसाब गर्दा ३ अर्व ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्नुपर्ने हुन्छ जुन नेपालको शेयर बजारको हिसाबले हेर्ने हो भने धेरै ठूलो पुँजी हो । यति ठूलो संख्यामा आइपिओ दाबी गर्न सक्ने कम्पनीले मात्र सबैलाई कम्तिमा १० कित्ता शेयर दिन सक्छ । अहिले सम्मको आइपिओको इतिहास हेर्ने हो भने कम्पनीहरुले त्यस्तै ५० देखि ६० लाख कित्तासम्म वा सोभन्दा केही कम वा बढीको आईपिओ जारी गर्दे आइरहेका छन् । त्यही भएर पनि हामीलाई शेयर पर्ने सम्भावना धेरै नै कम भएको छ ।

अब अहिले खुलेका डिम्याट खाताको संख्यालाई केही न केही रुपमा बिस्तारै शेयरको दोश्रो बजारमा लान सक्ने हो भने बजारको आकार निकै ठूलो हुने देखिन्छ । शेयर बजार भनेको खाली आइपिओ मात्र हैन । यो त विशाल सागर हो । शेयर बजारमा कारोबार गरीरहेका सबै कम्पनीहरु तपार्इँ र हामीजस्तै शेयरधनीका थोरै थोरै कित्ताका दरले ठूलो भएका कम्पनीहरु हुन् । त्यसो भएको हुनाले हामी आईपिओमा मात्र भर नपरी सानो पुजीँबाट पनि दोश्रो बजार छिरेर राम्रो कमाइ गर्न सक्छौँ । तर परेन भन्दैमा आइपिओको लागि आवदेन दिन भने नछोड्नुस । किनकी आईपिओ बाडफाँड निस्पक्ष हुन्छ र आज नपरेपनि अर्को आइपिओ खोल्दा तपार्इँलाई पक्कै पर्नेछ । हिजो आईपिओ भर्दा तपाईँलाई नपरेको शेयर भोलि दोश्रो बजारमा कारोबार हुन थालेपछि तपाईँले सहजै पाउन सक्नुहुन्छ ।

त्यो पनि तपाईँकै रोजाइमा । भलै त्यो शेयर १०० रुपैयाँ कित्तामा नपाइएला तर हामीले धान्न नसक्ने कता हो कता महँगो पनि हुँदैन । सामान्यतया मोबाइलको ज्ञान भएको भए तपार्इँ घरमै बसेर मोबाइल खेलाएको भरमै दोश्रो बजारको शेयरमा खेल्न सक्नुहुन्छ । त्यसको लागि तपार्इँले शेयर सहजीकरण गरिरहेका धितोपत्र दलाल कम्पनीहरुसँग कारोबार खाता र टिएमएस खाता खोलेर आफ्नो पोर्टफोलियोलाई बलियो बनाउन सक्नुहुन्छ । त्योबाहेक सयम समयमा कम्पनीहरुले जारी गरेका हकप्रद शेयर बिक्री नभएर शेयर लिलामीमा पनि राखेका हुन्छन् भने कतिपय अवस्थामा सँस्थापकहरुले आफ्नो स्वामित्व बेचेर त्यो कम्पनीबाट बिदा लिन पनि चाहिरहेका हुन्छन् ।

यो अवस्थामा पनि शेयरलाई लिलामीमा राखिने गरिन्छ । । यसरी लिलामीमा राखेका शेयरहरु बजार मूल्यभन्दा कम मूल्यमै किनेर राम्रो मूल्यमा बेच्न सक्छौँ । यसरी खुलेका लिलामी सेयरहरु कम्पनीले तोकेको शेयर निष्कानस पार्टनर कम्पनी र त्यसले तोकेका शाखा कार्यालय र बैंकबाट तोकिएको फर्म भरेर किन्न सकिन्छ । यसरी आईपिओ नपरेपनि हामी आफ्नो पोर्टफोलियो बलियो बनाएर शेयर बजारबाट राम्रो कमाइ गर्न सक्छौँ ।