इटहरीः पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा सडकको काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेहथुमको आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानलाई रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथिबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटी गई पहिरोबाट उद्धार गरी निकाल्दा मुक्तानको मृत्यु भइसकेको थियो । घटनासम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भइरहेको प्रहरीले जनाएको छ ।