इटहरीः जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामो दूरीमा सञ्चालित यातायातका साधन निर्वाध रुपमा सञ्चालन गर्न दिने भएको छ ।
लोक सेवा आयोग, त्रिभूवन विश्वविद्यालयजस्ता निकायको परीक्षा तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लामो दूरीका यातायात साधन सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयले हिजो ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
सोही परिपत्रका आधारमा काठमाडौँ प्रशासनले यातायात सञ्चालनको मार्गप्रशस्त गरेको हो । यसअघि काठमाडौँ जिल्लाभित्र आन्तरिक रुपमा सवारी सञ्चालनमा कुनै रोकटोक नभएपनि जिल्ला बाहिरबाट सवारी भित्र्याउन भने सरकारले रोक लगाएको थियो ।