इटहरीः प्रदेश १ मा लागूऔषधको कारोबारमा बितेको तीन महिनामा दुई सय जनाभन्दा बढी पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

२०७८ को वैशाख, जेठ र असारमा २ सय १७ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लाका रहेका छन् । अन्य जिल्लामा भने यो समयावधिमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता नभएको प्रहरीले जानकारी दिएको छ । यो अवधिमा मोरङमा सबैभन्दा बढी पक्राउ परेका छन् । प्रहरीका अनुसार मारङमा ८१ पुरुष र ३ महिला गरी ८४ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध ५३ वटा मुद्दा दर्ता भएका छन् ।

उनीहरुबाट १२ किलोग्राम ३० ग्राम गाँजा, ४३ ग्राम ९७५ मिलि ग्राम हेरोइन, १३ ग्राम ८६० मिलि ग्राम चरेश तथा एक सय १६ बोतल, ३ हजार एक सय ३८ एम्पुल र ४ हजार ६ सय ३२ चक्की अन्य लागुऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै सोही अवधिका सुनसरीमा ४९ जना पक्राउ परेका छन् । पक्राउ पर्ने सबै पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध ३४ वटा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले ५८३ किलोग्राम ७४५ ग्राम गाँजा, २२५ ग्राम ८१५ मिलिग्राम हेरोइन साथै २७५ वोतल, २५ एम्पुल २८ सय ७७ चक्की अन्य लागूऔषध बरामद गरेको छ । यता, झापाबाट प्रहरीले तीन महिनामा ५५ पुरुष र २ महिलालाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । उनीहरुबाट २६ ग्राम गाँजा, ३४४ ग्राम ३३५ मिलिग्राम हेरोईन तथा ३१ बोतल ३९१ एम्पुल र २०३ चक्की अन्य लागूऔषध बरामद गरेको प्रदेश प्रहरीले जानकारी दिएको छ । यसैगरी, प्रदेश १ कै इलाम जिल्लाबाट १० जना पुरुष लागूऔषध कारोबारमा पक्राउ परेका छन् । उनीहरुविरुद्ध ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, उनीहरुबाट ५० ग्राम गाँजा र ४३ ग्राम ५०० मिलिग्राम हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, उदयपुरबाट प्रहरीले तीन महिनामा १३ पुरुष र एक महिलालाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुविरुद्ध ११ वटा मुद्दा दर्ता भएका छन् । यस्तै उनीहरुबाट ३ किलोग्राम ९१० ग्राम गाँजा, २ ग्राम हेरोइन तथा १५८ एम्पुल र २५ सय ९३ चक्की अन्य लागूऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै धनकुटबाट प्रहरीले ३ जना पुरुषलाई पक्राउ गरी एउट मुद्दा दर्ता गरेको छ । उनीहरुबाट प्रहरीले २१० एम्पुल लागूऔषध बरामद गरेको छ ।