इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैया नाका क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न ब्राण्डका अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २७ वर्षीय आशिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार सीमावर्ति भारतीय बजार जोगबनीबाट लागूऔषध लिएर आइरहेका अभियुक्त चौधरीलाई हिजो साँझ ५ः५५ बजे सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट दरैयाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्त नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तका साथबाट अवैध लागूऔषध लुपिजेसिक नौ एम्पुल, डाइजेल्याब नौ एम्पुल र एभिल नौ एम्पुल बरामद भएपछि सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि अभियुक्त चौधरीलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको एसपी जीसीले जानकारी दिए । अभियुक्त चौधरीउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङबाट म्याद लिई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।