झापाः जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७–७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।

तीमध्ये वंशजका आधारमा १२ हजार आठ सय ४३ जना र वैवाहिक अङ्गिकृतका आधारमा एक सय ८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । सोही अवधिमा ६ हजार एक सय ८८ जनालाई राहदानी वितरण, ८६ वटा सङ्घसंस्था दर्ता, एक सय ६५ जना नाबालकको परिचयपत्र जारी र दुई वटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जनाएको छ । उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका दुई सय ५२ मुद्दा दर्ता भएकामा दुईतिहाइभन्दा बढी दुइ सय २४ वटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।

असार मसान्तसम्ममा अभद्र व्यवहारसम्बन्धी परेका मुद्दामध्ये १६ वटा छिनोफानो गरिएको समेत प्रशासनले जनाएको छ । अन्य मुद्दामा क्षतिपूर्तिसम्बन्धी १५ वटा, जुवासम्बन्धी नौ, झुटो सूचनासम्बन्धी दुई, सार्वजनिक बाटो अवरोधसम्बन्धी एउटा, सार्वजनिक स्थानमा यौन अङ्ग देखाएकोसम्बन्धी एउटा मुद्दा रहेका छन् । जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत तीन करोड ४९ लाख ५५ हजार दुई सय ५० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । -रासस