धरानः सुनसरीको धरानमा कोभिड(१९ सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भीडभाड हुने स्थान र कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङसँगै अनुगमन गरिने भएको छ ।

बिहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर दैनिक रूपमा वृद्धि हुँदै गएका कारण यस्तो निर्णय गरेको हो ।

बैठकले शुक्रबार दिउँसो २ बजे धरान उपमहानगर परिसरमा भेला भएर संयुक्त रूपमा धरानका भीडभाड हुने स्थान बजार तथा मुख्य चौकहरूमा अनुगमन गर्ने पनि निर्णय गरेको छ ।

साथै, बिहीबारदेखि नै माइकिङ गर्न पनि थालिएको छ भने मास्क अनिवार्य लगाउन पनि सचेतना गर्ने भएको छ । यस्तै भानु चौकलगायत धरानको मुख्य चौकहरूमा निजी सवारी साधनहरूलाई पार्किङ गर्न पनि नदिने निर्णय भएको छ ।

मेयर तिलक राईले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर भयावह स्थिति बन्दै गएको बताए । दुई, चार दिनपछि पनि स्थिति जस्ताको तस्तै रह्यो भने फेरि सर्वपक्षीय छलफल बसेर थप कडाइका साथ लकडाउन गर्न बाध्य हुने मेयर राईले बताए ।

बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी र धरान उपमहानगरपालिकाका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।