इटहरीः मोरङको उर्लाबारी नगरपालिका ८ स्थित एभरेस्ट फन पार्कमा आयोजना हुन लागेको नेकपा एमाले केपी शर्मा ओली पक्षको नगरस्तरीय भेला आयोजनास्थलमा तोडफोड भएको छ ।

आज मध्यान्न १२ः०० बजेदेखि प्रारम्भ हुने तयारीमा रहेको भेला अज्ञात समूहले तोडफोड गरेपछि स्थगित गर्नु परेको ओली पक्षका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचान खुल्न नसकेकाले खोजीको प्रयास जारी रहेको छ । गाडीमा सवार भई आएका युवाहरुको समूहले तोडफोड गरी फरार भएको उनको भनाइ छ । तोडफोडमा एमालेकै माधव झलनाथ पक्षका कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, माधव नेपाल समूहका नगर संयोजक गंगा बास्तोलाले तोडफोडको आरोप अस्वीकार गरेका छन् । भेलाबारे आफूहरुलाई कुनै जानकारी नभएको बताउँदै उनले ओली पक्षकै आन्तरिक विवादका कारण तोडफोड भएको हुनसक्ने जिकीर गरे । कमिटिमा रहने सदस्यको मनोनयनका सम्बन्धमा ओली समूहबीच नै विवाद रहेको त्यस क्षेत्रका ओली पक्षीय कार्यकर्ताहरुले उल्लेख गरेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित सहभागी हुने कार्यक्रम तोडफोडका कारण स्थगित भएको हो ।