धरानः धरानमा नेपाली कांग्रेसले संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवस मनाउँदै नेपालमा प्रजातन्त्र प्राप्तिका लागि शहादत प्राप्त गरेका शहीदहरुको सम्झना गरेको छ ।

राणा शासन र राजतन्त्र विरुद्धको संघर्षमा कांग्रेस कार्यकर्ताले सामना गरेको ज्यानको जोखिमबाटै प्रजातन्त्र आएको भन्दै यसपालि पनि त्यो इतिहासका नायक बीपीको सम्झना कोरोना महामारीका बीच गरिएको हो । नेपाली कांग्रेस धरान सभापति तथा मेयर तिलक राईले धरानमा बढेको कोरोना संक्रमण र मृत्यु दरले चाँडै लकडाउन गर्नुपर्ने अवस्था आएको बताए । उनले भने ‘संक्रमणको जोखिम बढेकाले सबैतिरबाट लकडाउन गर्न दवाब आइरहेको छ ।’ वीपी स्मृति दिवसका अवसरमा बिहान वीपी पार्कस्थित शालिकमा माल्यार्पण गरियो । दिउँसो निर्माणाधीन ‘बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान भवन’ कांग्रेस कार्यालयमा भएको विचार गोष्ठीमा सीमित वक्ता सहभागी थिए ।

प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइराल प्रमुख अतिथि थिए । गिरिराज आचार्यले इतिहासका सम्झना सुनाए । धरानको राजनीतिक इतिहासमा नेपाली कांग्रेसले पहिलो पटक स्थानीय सरकारको नेतृत्वमा विजय हासिल गरेसँगै आफ्नै कार्यालय भवनमा यो दिवस मनाएको हो । धरान–२ निकेतन गल्लीस्थित ‘बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान भवन’ कांग्रेस नगर सभापति तथा मेयर तिलक राईको सकृयतामा निर्माणाधीन छ । वीपीको संघर्षको इतिहासमा धरानको सम्बन्ध जेल जीवनसँग जोडिएको छ । पहिलो पटक वीपीलाई पक्राउ गरी पैदल हिँडाएर काठमाडौँ लैजाँदा तत्कालीन धरान–धनकुटा बाटोको प्रस्थान विन्दु फुश्रो सर्दुखोला थियो ।

त्यो इतिहासका स्मरण गराउन वीपी स्मृति पार्क र वीपीको शालिक स्थापना गरिएको हो । वीपी कोइरालासँगै प्रजातन्त्रको संघर्षमा होमिएका कांग्रेसका नेताद्वय स्वर्गिय बलबहादुर राई, भीमबहादुर तामाङको स्मृति भवन धरानमा बन्नु र भवनको पहिलो उपयोगस्वरुप वीपीको स्मृति दिवस मनाइनु सुखद संयोग पनि हो । यो संयोगका लागि धरान–१८ की वडा सदस्य दिलकुमारी राईको योगदान रहेको छ । कांग्रेसको आफ्नै भवनका लागि उनले निकेतन गल्लीको आफ्नो ५ धुर जमीन निशुल्क प्रदान गरेकी हुन् । सोही जमीनमा आढाई तले कांग्रेस भवन लभभग बनिसकेको छ । भवनमा कांग्रेस सुनसरी–१ क्षेत्रीय कार्यालयसहित पार्टी निकायका कार्यालयहरु, भातृ संगठनका कार्यालयहरु रहने छन् । रंग–रोगन सहित फिनिसिङको काम सकेपछि उद्घाटन गरिने छ ।