इटहरीः राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।

साउन ३१ मा सुरु भएको परीक्षा भदौ ९ गते सम्पन्न हुने कार्यतालिका तय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार देशभरका कक्षा १२ को अध्यापन हुने सबै विद्यालयहरुमा आफ्नै विद्यार्थीहरु मात्र सहभागी हुन पाउने गरी भौतिक उपस्थितिमै परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ । यसरी परीक्षा सञ्चालन गर्दा संघीय सरकारको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना महामारीबाट बच्नका लागि जारी गरेका सबै मापदण्ड कडाइका साथ पालना गरिने बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले प्रष्ट पारे ।

उनका अनुसार कक्षा १२ मा अध्ययनरत करिब तीन लाख ७५ हजार विद्यार्थीले देशभरका चार हजार तीन सय १० परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । गत वर्ष ६० प्रतिशत आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत लिखित परीक्षाका माध्यमबाट विद्यार्थीको मूल्याङ्कन गरेको बोर्डले यस वर्ष भने गत जेठमै भौतिक उपस्थितिमा परीक्षा सञ्चालनको तयारी गरेकोमा कोरोनाको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको थियो । सोही परीक्षा साउनको अन्तिम दिनदेखि सुरु हुने भएको हो । मिति र समय सहितको परीक्षा तालिका बोर्डको वेबसाइटमै हेर्न सकिने बोर्डले जनाएको छ ।

routine