इटहरीः डाक्टरले उपचारमा लापरबाही गर्दा बिरामीको ज्यान गएको भन्दै सुनसनरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीका आफन्तले तोडफोड गरेका छन् ।
धरान–१७ स्थित आफ्नै घरमा बाथरुममा लडेर घाइते भएकी ४२ वर्षीया महिलालाई उपचारार्थ विजयपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीपी प्रतिष्ठान रेफर गरिएको थियो । बीपी प्रतिष्ठानमा लगिएपछि पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएपछि प्रतिष्ठानले आफ्नै कोभिड अस्पतालमा उपचार सुरु गरेकोमा उपचारका क्रममा उनको ज्यान गएको थियो । प्रतिष्ठानले आईसीयूमा उपचार नगरेको र बिरामीको जटिल अवस्थाबारे आफूहरुलाई जानकारीसमेत नदिएको आफन्तको आरोप छ ।
अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै आफन्तले बिरामीको कोरोना परीक्षणको रिपोर्टका साथै मृत्युअघि बिरामीको अवस्था तथा उपचार गर्दा अपनाइएको प्रकृया देखिने सीसीटीभी रेकर्ड हेर्न पाउनुपर्ने तथा घटनाको न्यायिक छानबिन गरिनुपर्ने आफन्तहरुको माग छ । यसैबीच, प्रतिष्ठानमा तोडफोड गरेको आरोपमा आरोपमा मृतक बिरामीका सात जना आफन्तहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले गिरफ्तारीको पुष्टि गर्दै अभियुक्तहरुलाई के गर्ने भन्नेबारे केही बेरपछि निष्कर्षमा पुगिने जानकारी दिए ।