इटहरीः मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयअगाडि मोटरसाइकलमा बसेकै अवस्थामा हिजो राति ८ः३० बजे मृत भेटिएका विराटनगर ५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपानेलाई ट्रकले ठक्कर दिएको पाइएको छ ।

को ४ प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाइकलमा बसिरहेको अवस्थामा मृत फेला परेका न्यौपानेलाई सोही साँझ ७ः१० बजे ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शी अजय तिम्सिनालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ‘ट्रक भन्दाअघि मोटरसाइकलमा रहेका न्यौपानेलाई ट्रकले ठक्कर दिएको आफूले पछाडिबाट देखेको बयान प्रत्यक्षदर्शी तिम्सिनाले दिएको जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए । उनका अनुसार ट्रकले ठक्कर दिएपछि लडेका न्यौपानेलाई तिम्सिनाले उठाएर डिभाइडरछेउमा राखेका थिए । तीन जनाको समूहले उठाएर अवस्थाबारे सोध्दा न्यौपानेले ठीकै छ भनेपछि आफूहरु गन्तव्यतर्फ लागेको प्रत्यक्षदर्शी तिम्सिनाको जिकीर छ । मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको जनाउँदै प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । घटनास्थलमा सीसीटीभी नहुँदा ठक्कर दिने सवारीको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।