इटहरीः जलविद्युत् उत्पादक कम्पनी मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आयोजना निर्माणबाट प्रभावित स्थानीयहरुका लागि ६० लाख कित्ता साधारण सेयर आवेदनको लागि म्याद थप गरेको छ ।
यसअघि खुला गरिएको आवेदन दिने अवधि वैशाख २४ गते सकिएकोमा आजदेखि पुनः आवेदन खुला भएको हो । आयोजना प्रभावित क्षेत्रका अतिरिक्त सिन्धुपाल्चोक जिल्लाका अन्य केही क्षेत्रका स्थानीयले पनि सेयर आवेदन दिन सक्ने कम्पनीलेि जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाले कुल सेयर संख्याको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाले कुल सेयर संख्याको ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता साधारण सेयर पाउने भएका छन् । सेयर आवेदनको न्यूनतम अवधि साउन १७ र अन्तिम अवधि साउन ३१ सम्म रहेको छ ।
न्यूनतम ५० देखि अधिकतम चार सय कित्ता सेयर एक व्यक्तिले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । सर्वसाधारणका लागि आईपीओ निष्कासन भने केही समयपछि गरिने बताइएको छ । आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।