इटहरीः मोरङको उर्लाबारी नगरपालिका–५ स्कुलडाँडाबाट प्रहरीले गएराति प्रतिबन्धित औषधिसहित एक जाना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भई हाल मोरङको बेलबारी नगरपालिका–२ लालभित्ति घर भएका २० वर्षीय कोपवन राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजाराम खड्का नेतृत्वको टोलीले उनलाई गएराति करिब ९ः२० बजे पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त राईका साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल एक हजार तीन सय र स्पास्पाइन एक हजार तीन सय गरेर दुई हजार छ सय चक्की बरामद भएको प्रहरीले जनाएको छ । अभियुक्तले बोकेको झोला जाँच गर्दा प्रतिबन्धित औषधि फेला परेको बताउँदै अभियुक्तलाई जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।