धनकुटाः बंगुर पकेट क्षेत्रका कृषकहरुलाई धनकुटाको महालक्ष्मी नगरपालिकाले उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई लगायतले कृषकहरुलाई बंगुरका पाठी प्रदान गरेका हुन् ।
वडा नं.३ को डाँडागाउँ बंगुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बंगुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बंगुर पालक कृषक समूहसँग आवद्ध २०/२० जना कृषकलाई बंगुरको पाठी दिइएको हो । त्यस्तै, बंगुरको संख्या बृद्धि गर्न तीन वटै कृषक समूहलाई एक÷एक वटा बंगुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिए ।
महालक्ष्मी नगरपालिकाले वडाहरुलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिवासले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ ।