इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित रानी भन्सार क्षेत्रबाट राजश्व कार्यालय, भन्सार राजश्व गस्ति र नेपाल प्रहरीको संयुक्त टोलीले भन्सार छली भारतबाट आयातित कपडा बरामद गरेको छ ।

विराटनगर ६ जतुवाका अकबर अलीले चोरी पैठारी गरी ल्याएको दुई ट्याक्टर कपडा हिजो साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार एउटा ट्याक्टर भन्सार कार्यालय नजिकैको सडकबाट र अर्को विराटनगर ६, जतुवास्थित हनुमान मन्दिरबाट बरामद गरिएको हो । आयातकर्ता अलीले ५९९, ४२९ र ३७९ भारतीय रुपैयाँ प्रतिथान मूल्य पर्ने कपडाको राजश्व एक सय रुपैयाँ प्रतिथान मात्र मूल्य कायम गरी राजश्व छली गरेको पाइएपछि प्रहरी निरीक्षक पप्पु नायकको टोलीले सामान लोड गरिएका बीआर ५० जी ५०३५ र को १ त ६८११ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भन्सार छली गरी कपडा आयातमा संलग्न अली भन्सार एजेन्ट प्रतिनिधिसमेत हुन् । उनी यसअघि पनि पहुँचका आधारमा राजश्व कार्यालयका कर्मचारीलाई प्रभावमा पारी अवैध पैठारीको धन्धामा संलग्न रहेका छन् । यसअघि राजश्वको टोलीले उनको सरौचियास्थित गोदामबाट पनि ठूलो परिमाणमा अवैध पैठारी गरिएका मालसामान बरामद गरेको थियो । भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीसमेत अवैध पैठारीमा सहयोगीको भूमिकामा संलग्न हुनसक्ने आशंका गरिएको छ । अवैध पैठारीको धन्धा फस्टाएकै कारण गत वर्ष विराटनगर भन्सारमा लक्ष्यभन्दा १२ प्रतिशत न्यून राजश्व असुली भएको थियो ।