इटहरीः भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई ३ वर्षदेखि संखुवासभाको तुम्लिङटार क्षेत्रमा बसोबास गर्ने २५ वर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।
असार ३० गते खाँदबाारी नगरपालिका–९ का ४७ वर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेसँगै सो घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।