इटहरीः श्रीमतिका हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले झापाको गौरादह नगरपालिका १ स्थित शीतल चौकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ९ सखुवाथान घर भई हाल गौरादह बस्दै आएका ३९ वर्षीय सजिलाल रिख्यासन रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार रिख्यासनले गत असार ३१ गते ३४ वर्षीया श्रीमति संगीता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर फरार भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै तिव्र रुपमा खोजी गरेको प्रहरीले उनलाई आज पक्राउ गरी सार्वजनिक गरेको हो । अभियुक्त रिख्यासनलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।