इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक आवासीय चिकित्सकमाथि प्रतिष्ठानकै लेखा अधिकृतले दुव्र्यवहार गरेका छन् ।
आफूमाथि दुव्र्यहार भएको भन्दै कमल रायमाझीविरुद्ध प्रतिष्ठानका आवासीय चिकित्सक डा.विप्लव कार्कीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । डा. कार्कीले लेखा अधिकृत रायमाझीले आफूलाई गएराति ८ः३० बजे आफू बस्ने प्रतिष्ठानको आवास नम्बर १०४ ‘डी’ को कोठाभित्रै प्रवेश गरी गालीगलौज गर्नुका साथै भौतिक आक्रमणको धम्कीसमेत दिएको बताएका छन् । ‘मलाई गाली गर्दा विभिन्न अपशब्दहरु समेत प्रयोग गरियो, जस्तैः तैंले मलाई नटेर्ने ?, तँलाई यहाँबाट तुरुन्तै निकालिदिन्छु, हेरम् तँ यहाँ कसरी बस्दो रहेछन् ? तँलाई तेरो औकात देखाइदिन्छु’ डा.कार्कीले इलाका प्रहरी कार्यालय धरानमा दर्ता गराएको जाहेरीमा उल्लेख छ ।
प्रतिष्ठानले असार ३० गते क्वार्टर खाली गर्न भन्दै डा.कार्कीका नाममा पत्रसमेत काटेको छ । प्रतिष्ठानकै कर्मचारीबाट चिकित्सकमाथि गालीगलौज र आक्रमणको धम्की आएपछि प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकहरुले प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने तयारी गरेको छ । पटक पटक कोठा खाली गर्न दबाब दिँदै आएका लेखा अधिकृत रायमाझीले आफू प्रतिष्ठानका उपकुलपतिको खास मान्छे भएको बताउँदै ज्यादति गर्दै आएको आवासीय चिकित्सकहरुले बताएका छन् ।