इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ३ स्थित शान्ति चौकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी ४ घर भएकी ३३ वर्षीया रिया पोख्रेल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार आज दिउँसो इटहरीबाट तालतलैयातर्फ गइरहेको को २ ह ५२६५ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको खम्बामा ठोक्किँदा सोही अटोमा सवार पोख्रेल गम्भीर घाइते भएकी थिइन् । घाइते पोख्रेललाई उपचारार्थ मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारका क्रममा उनको ज्यान गएको डीएसपी तिम्सिनाको भनाइ छ ।

दुर्घटना गराउने अटोका चालक इटहरी ४ घर भएका ३१ वर्षीय पप्पु यादवलाई प्रहरी चौकी तालतलैयाले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तिव्र गति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।