इटहरीः प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन ब्यान भर्सेस ब्राण्डको अवधारणा ल्याइएको बताएकी छन् ।

समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याइएको उनले बताइन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज विदाइ कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् । ब्यान भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाइएको मन्त्री राईले बताइन् । उनले भनिन्,‘ सिंगो प्रदेशको नेतृत्व सामाजिक विकास मन्त्रालयले गर्नेछ ।’ दीर्घकालीन लक्ष्य राखेर ब्यान भर्सेस ब्राण्डको अवधारणा अघि बढाइएकाले यसबाट धेरैको रोजगारी सिर्जना हुने मन्त्री राईको भनाइ छ ।

photo 2

 

कार्यक्रममा विदाइ भएका सचिव कार्कीले १ वर्ष १ महिनाको बसाइमा धेरै समय कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताए । उनले मन्त्रालयको सचिव भएर आएकै दिनदेखि कोरोना संक्रमण नियन्त्रणमा लाग्नु परेको बताए । कोरोनामा धेरै ध्यान केन्द्रित गर्दा मन्त्रालयका अन्य क्षेत्रका कतिपय काम हुन नसकेको उनले बताए । कोरोनाका कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नु परेको उनले बताए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले वक्तव्य दिएका थिए । मन्त्रालयका सचिव कार्कीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेश १ मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आउने भएका छन् ।