इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोराना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ घर भएका ७१ वर्षीय ज्येष्ठ नागरिक पुरुष र धरान ४ घर भएकी ३७ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार २१ गते कोरोना संक्रमण पुष्टि भई २५ गते प्रतिष्ठानमा भर्ना भएका ७१ वर्षीय पुरुषको आज दिउँसा १ः२५ बजे ज्यान गएको हो । मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेहको दीर्घकालीन समस्या रहेको सहप्रवक्ता डा.पोख्रेलले जानकारी दिए ।
यसैगरी, असार २८ गते संक्रमण पुष्टि भई सोही दिन भर्ना भएकी ३७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ७ः३० बजे ज्यान गएको हो । मृतक महिलामा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, धरान १५ घर भएका किराँत राई यायोक्खा धरान उपमहानगर समितिका उपाध्यक्ष सन्तकुमार राईको पनि कोरोना संक्रमणकै कारण विजयपुर अस्पतालमा ज्यान गएको छ । अस्पताल निर्देशक प्रभाव खतिवडाका अनुसार फोक्सोमा संक्रमण भई असार १९ गते अस्पताल भर्ना भएका राईलाई तीन दिनयता आईसीयूमा राखी उपचार गर्दै आएकोमा उपचार सफल हुन नसकी उनको ज्यान गएको खतिवडाको भनाइ छ ।